
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की र नेपालका लागि बेलायतका राजदुत रब फेन बीच भेट बार्ता भएको छ । बिहिबार भएको भेटमा उनीहरुबीच युवाशक्तिलाई आईटीसँग जोडेर रोजगारमुखी बनाउने बिषयमा छलफल भएको छ ।
राजदुत फेनसँग अत्यन्तै प्रभावकारी र फलदायी बैठक सम्पन्न भएको नगरप्रमुख कार्कीले बताए । बैठकमा नगरपालिकाको डिजिटल आधुनिकीकरण, स्थानीय युवाका लागि रोजगारी सिर्जना र प्रभावकारी सहकार्यका अवसरबारे गहिरो छलफल भएको प्रमुख कार्कीको भनाई छ ।
यसैबीच जेनेस सोलुसन प्रा.लि. र नगरपालिकाबीच केही महिनाअघि डिजिटल साक्षरता र कार्यस्थल तत्परता बढाउने उद्देश्यले पाँचवटा १० दिने आईटी तालिम कार्यशालाहरू र तीन–महिने विस्तारित सिकाइ कार्यक्रम सञ्चालन गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
सम्झौताअनुसार तालिम कार्यक्रमहरूमार्फत नगरभित्रका युवाहरूलाई सूचना प्रविधिसँग जोडेर रोजगारीमुखी बनाउने र उनीहरूलाई आफ्नै नगरपालिकामै अवसर सिर्जना गर्ने लक्ष्य लिइएको छ ।
यस सहकार्यबाट नगर क्षेत्रभित्रका युवाहरूलाई व्यावहारिक सीप, डिजिटल दक्षता, र कार्यस्थलमा आवश्यक सामाजिक तथा प्राविधिक तयारीमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
बैठकमा जेनेस सोलुसनका सीईओ अञ्जनी फुयालको पनि उपस्थिति रहेको थियो ।
























