Skip

Hamro Sanchar

आज रातिदेखि भोलिसम्म धेरै ठाउँमा भारी वर्षा हुन सक्छ : मौसमविद्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १३ गते


काठमाडौं । मौसमविद्ले आज रातिदेखि भोलिसम्म देशका धेरै भागमा भारी वर्षाको सम्भावना रहेको बताएका छन् । मौसमविद् विनोद पोखरेलले अहिले न्यूनचापीय प्रणाली नेपालभन्दा धेरै टाढा रहेको र आज रातिदेखि सक्रिय हुने बताएका छन् ।

उनका अनुसार, मोन्थाको प्रभावले हिजो बेलुकादेखि पूर्वी नेपाल र आज बिहानदेखि गण्डकी प्रदेशभन्दा पूर्वका सबै भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

तर, यो त ट्रेलर मात्र हो है १ न्यूनचापीय प्रणाली (चक्रवातको मूल भाग) अझै नेपालबाट धेरै टाढा छ । यो प्रणालीले आज रातिदेखि भोलिसम्म (कार्तिक १३ र १४ गते)धेरै ठाउँमा भारी वर्षा गराउने सम्भावना राम्रै छ, पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन् ।

यता जल तथा मौसम विज्ञान विभागले तीन दिन (कार्तिक १३, १४ र १५ गते)का लागि मौसमी चेतावनी जारी गरेको छ । विभागले देशका विभिन्न भागमा वर्षा र हिमपातको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार, आज रातिदेखि कोसी, मधेस र वाग्मती प्रदेशका सबै जिल्लामा तथा गण्डकी र लुम्बिनी प्रदेशका गोरखा, नवलपरासी र रूपन्देही जिल्लामा सतर्क रहनु भनेको छ ।

विभागले शुक्रबार कोसी, मधेस, र वाग्मती प्रदेशका सबै जिल्लासहित गोरखालाई सतर्क रहने सूचीमा राखेको छ ।

शनिबार कोसी प्रदेशको पूर्वी भेगका संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लामा सतर्कता अपनाउन भनिएको छ । बाँकी अधिकांश जिल्लाहरूमा मौसम सुधार हुँदै जाने अनुमान गरिएको छ ।

 


प्रतिकृया दिनुहोस्