Skip

Hamro Sanchar

बालेनले गृहमन्त्री हटाउन दबाब दिएका छैनन् : प्रधानमन्त्री कार्यालय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १३ गते


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याल हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दबाब दिइरहेको भन्ने हल्लाको खण्डन गरेको छ।

कसलाई मन्त्री बनाउने वा हटाउने भन्ने कुरा विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएकाले यो कुरा अफवाह भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

‘विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण विवरणहरूप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ। कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो’, प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन। जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ। यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ।


प्रतिकृया दिनुहोस्