
काठमाडौं । प्रहरीको केन्द्रीय साइबर ब्युरोले अधिवक्ता स्वागत नेपालसँग बयान लिएको छ।
ब्युरोले कार्यालयमा बोलाएर अधिवक्ता नेपालसँग आइतबार ६ घन्टा लामो बयान लिएको हो।
नेपालविरूद्ध साइबर ब्युरोमा उजुरी परेपछि तिहार अघि अर्थात कात्तिक ४ गते नै उनलाई सोधपुछका लागि फोन गरेर बोलाइएको थियो।
उनले प्रहरीलाई तिहारपछि आउँछु भनेका थिए। सोहीअनुसार आइतबार उनी ब्युरो पुगेको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।
आइतबार नेपालसँग करिब ६ घन्टा लामो बयान भएको छ, एसपी अवस्थीले भने, सोमबार सार्वजनिक बिदा परेपछि मंगलबार पुनस् बोलाइएको छ।
उनीविरूद्ध उजुरी परेको भने पनि के विषयमा भन्ने कुरा प्रहरीले भने खुलाएको छैन।
तर नेपाल आफैले कात्तिक ३ गते भिडिओ सन्देश जारी गर्दै आफूलाई पूर्वप्रधानन्यायाधीश तथा प्रधानमन्त्री सुशीला कार्कीमाथि नैतिकताको प्रश्न उठाएकाले उजुरी परेको बताएका छन् ।


















