
काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन संसद् भवनको निरीक्षण गरेका छन् । आज सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण गरेका हुन् ।
आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने तय छ । फागुन २१ को निर्वाचनबाट चुनिने सांसदले नयाँ संसद् भवनबाट कार्य सञ्चालन गर्न सक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन निर्देशन दिइएको छ ।
अवलोकनपश्चात् सञ्चारकर्मीसँग मन्त्री घिसिङले पुरानो संसद् भवन ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएकाले राष्ट्रियसभा र प्रतिनिधिसभा पनि फागुन २१ पछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । नयाँ संसद् भवन छिटो बनाउन नसकिए धेरै असर पर्ने स्थिति रहेको उनले उल्लेख गरे ।
आउँदो पुस १६ गतेसम्म सबै काम सकाउने निर्माण कम्पनीले भनेको छ । तर, त्यति बेलासम्म सबै काम पूरा हुन गाह्रो स्थिति रहेको उनले बताए ।
हरेक दिनको ‘सेड्युल’ बनाएर काम गर्न उनले निर्देशन दिए । दुई चरणमा काम गरी समयमै निर्माण सम्पन्न गर्न उनले निर्देशन दिए । दुई दिनभित्र सेड्युल पेस गर्न र त्यहीअनुसार काम गर्न उनले निर्देशन दिए ।
निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने उनले बताए । आवश्यक साधनस्रोत र जनशक्ति खटाएर तीव्रताका साथ काम गर्न उनले निर्देशन दिए । समयमै काम सम्पन्न नभए कारबाहीस्वरूप जरिवाना तिराउने उनले चेतावनी पनि दिए ।
अन्तरिम सरकारले फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने मिति तोकेको छ । तर, राजनीतिक दलहरूले सरकार निर्वाचन गराउनेभन्दा भाँड्ने काममा लागेको भन्दै आपत्ति जनाइरहेका छन् । नेकपा (एमाले) संसद पुनर्स्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारीमा छ ।


















