Skip

Hamro Sanchar

जलेको निवासबाट सार्वजनिक हुदै पूर्वमन्त्री खड्काले भने : सरकारसँग डराउँदिन, विदेश भागेको छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ३ गते


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले सरकारसँग नडराउने बताएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले विदेश भागेको दाबी गरेकै भोलिपल्ट आज आफ्नो जलेको निवास परिसरमा पत्रकार सम्मेलन गरेर उनले सरकारसँग नडराउने बताएका हुन् । ‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ?’ पूर्वमन्त्री खड्काले प्रश्न गरे, ‘म भागे भन्न मिल्छ रु झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’

उनले जेनजी आन्दोलनका क्रममा २४ भदौका दिन आफू घरमै रहेको पनि जानकारी दिए । उनले घरमा पुगेका आन्दोनलकारीले ढोकामा हान्न थालेपछि आफूले खाना नै खान नपाएको गुनासो गरे ।

‘आर्मीहरूले सुरक्षित गरेर संरक्षण गरेको हो । २४ गते म घरमै थिएँ । खाना खाँदै थिएँ’, खड्काले भने, ‘मेरो घरमा आगजनी हुँदै गर्दा ढोका ढ्याङ-ढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ । अंगरक्षक साथीहरुले बाहिर निकाल्नुभयो ।’

पूर्वमन्त्री खड्काले घरबाट निस्किएर छिमेकीमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा बसेको पनि जानकारी दिए । ‘म छिमेकीकोमा बसें । राति त्यहाँबाट निस्किएर आर्मी क्याम्पमा बसियो’, उनले भने, ‘त्यसपछि तराईतिर तीन-चार दिन बसेँ ।’

खड्काले तराईबाट आफू सोझै उपचारका लागि भारत गएको पनि बताए । ‘बिरामी भएपछि उपचारका लागि भारतमा गएँ । डेँगु भएछ । त्यहाँ केही मन्त्रीहरुसँग भेटघाट भयो’, उनले भने । बच्चा, श्रीमती र आफू बिरामी भएको खड्काको भनाइ छ ।

उनले अहिलेको सरकारका विषमा टिका-टिप्पणी नगर्ने पनि बताए । ‘अहिले सरकारले निर्वाचन घोषणा गरेको छ, मुलुक सम्हाल्ने दायित्व हो । यो सरकारको विषयमा टिकाटिप्पणी छैन’, खड्काले भने, ‘परिस्थितिजन्य सिर्जित सरकारको हो । यो मुलुकको जिम्मा राजनीतिक दलहरुले, समाजमा रहेका नागरिकहरुले लिनुपर्छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार मात्र नयाँ पत्रिकासँगको अन्तर्वार्तामा तत्कालीन ऊर्जामन्त्री खड्का देश छाडेर भागेको दाबी गरेका थिए।

तर सोमबार बिहान फेसबुक लाइभ गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘भाग्नुपर्ने कुनै कारण छैन। आन्दोलनको विषयमा छानबिनका लागि तत्कालीन सरकारले निर्णय नै गरेको छ। भाग्न किन पर्‍यो।’


प्रतिकृया दिनुहोस्