Skip

Hamro Sanchar

ओलि भन्छन् : देश र जनताप्रति बफादार छु, कसैलाई मन नपर्नु व्यक्तिगत विषय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २ गते


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा शान्ति सुव्यवस्था भएको तर अहिले त्यो भंग भएको दाबी गरेका छन् ।

आज सम्पादकहरूसँगको छलफलका क्रममा उनले अहिले देशमा त्रासको वातावरण भएको बताए ।

उनले आफू देश र जनताप्रति पूर्ण बफादार भएको दाबी गरे । कसैलाई मन परे पनि नपरे पनि उक्त बफादारिता नछाड्ने उनले बताए ।

‘शान्ति सुव्यवस्था थियो । भंग भएको छ । निर्धक्क वातावरण थियो । त्रासदी छ । देश विकासको बाटोमा अघि बढ्दै थियो । सार्वभौमसत्ताको संरक्षण गरेर अघि बढ्दै थियो । त्यो भताभुंग भएको छ । अस्थिरतामा गएको छ,’ ओलीले भने, ‘अनिश्चयमा गएको छ । मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन् ।

यस्तै ओलीले आफ्नो एक एक पैसाको छानबिन गर्न पुनस् माग गरेका छन्।

पत्रकार सम्मेलनमार्फत् ओलीले आफ्नो बारेमा छानबिन गर्न सरकारलाई पटकपटक आह्वान गरेको भन्दै पत्रकार महासंघले गरे पनि हुने बताएका हुन्।

‘मैले एक पैसा भ्रष्टाचार गरेको छैन। छानबिन गर्नुस् भनेको भन्यै छु। अरुको नसके मेरो मात्रै गरे पनि हुन्छ,’ ओलीले भने, ‘पत्रकार महासंघले गरे पनि हुन्छ, सम्पादक मण्डलले मेरो सम्पत्तिको छानबिन गरे हुन्छ।’

मेरो घरको डढेको खरानीको कणकण तपाईंहरूले हिसाव गर्नुपर्ने हुन्छ।

सरकारले खाता रोक्का गर्न गरेको निर्णयप्रति लक्षित गर्दै उनले भने, ‘खाता रोक्का गर्ने भनेको पनि सुन्छु। मैले सांसद् र प्रधानमन्त्रीका हैसियतले पाएको अहिलेसम्मको जम्मा गरेर २०, २५ लाख रुपैयाँ खातामा होला, त्यो त एकछिनमा हिसाव गरे थाहा हुन्छ। बैंकले हिसाव दिइहाल्छ। विश्वभरीका सरकारलाई सूचना जारी गरेर ओलीको सम्पत्ति पठाइदेउ भने भो, होला नि उपायहहरू त।’

उनले आफू आक्रोश र आवेगमा भन्दा सत्य स्थापना होस् भनेर भनिरहेको बताए। ‘मैले पनि माग गरेको छु, केन्द्रीय कमिटीको बैठकले पनि सम्पत्ति छानबिनको माग गरेको छ,’ उनले थपे, ‘म त भन्छु बिचौलिया, ब्ल्याकमेलरको पनि गरौं। अरुको पनि गरौं, सबैको गरौं। देश मेरो मात्र होइन, सदाचार नै चाहिएको हो भने शंका लागेका सबैको गरे भो नि।


प्रतिकृया दिनुहोस्