
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी समेत गरे ।
माओवादीमा दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ । सोही आवाजप्रति लक्षित गर्दै उनले देश बचाउनको लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताए । उनले पार्टी कार्यकर्ताहरुलाई विचलिन नहुन पनि आग्रह गरे।
यस्तै प्रचण्डले पटक-पटक विघटन गर्नेहरूले संसद् पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्।
कार्यक्रममा उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलक्षित यस्तो टिप्पणी गरेका हुन् ।
उनले सरकारले तोेकेको समयमा निर्वाचन नभए अर्को अराजकता निम्तने खतरा रहेको बताए । वर्तामान यथार्थलाई स्वीकार गरेर निर्वाचन सफल बनाउन लाग्न एमालेलाई उनले आग्रह गरे ।
घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको सबभन्दा उत्तम विकल्प रहेको उनकोभ भनाइ थियो । यसलाई भड्काउने कोसिस नगर्न उनले चेतावनी समेत दिए ।


















