काठमाडौं। नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ।
सेनाको आज आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको ज्यान गएको बताएका हुन्।
आन्दोलनको कारण ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र अन्य ४१ रहेको उपरथी थापाको भनाइ छ।
जेन-जी पुस्ताका युवा, किशोर विद्यार्थीहरूले आह्वान गरेको प्रदर्शनमा प्रहरकिो गोली लागेर २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा १९ र सुनसरीको इटहरीमा दुईजनाको मृत्यु भएको थियो ।
यस्तै आन्दोलनका क्रममा ६१ जना भीआईपी तथा तिनका परिवारको हेलिकप्टरबाट उद्धार गरेको सेनाले जनाएको छ । त्यस्तै २३ जना प्रहरीको पनि सेनाले हेलीबाटै उद्धार गरेको थियो ।
पत्रकार सम्मेलन गर्दै सेनाले विभिन्न ढंगले फसेका थप १२९ जनालाई जमिनबाट सुरक्षित उद्धार गरिएको जनाएको छ । सेनाले दिएको विवरण अनुसार जेनजी आन्दोलनका क्रममाा ६८८ सरकारी कार्यालय,२५९ जनाका निजी निवास,१२८ व्यापारिक प्रतिष्ठन र राजनीतिक दलका १९८ वटा कार्यालय आगजनी र तोडफोड भएका थिए ।
नेपाल प्रहरीका ३०७ कार्यालयमा तोडफोड र आगजनी भएको थियो । सेनाले २४ गते रातिबाट ६ देखि ८ घण्टामा स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।


















