Skip

Hamro Sanchar

हामी सबै एक भएर निर्वाचनमा जानुपर्छ : प्रचण्ड

संसद् पुनर्स्थापनाको एजेन्डा गौण बनिसकेकाे जिकिर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ३० गते


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा देखिएको गम्भीर सुरक्षा लापरबाही घटनाको मुख्य कारण भएको बताएका छन् ।

आज बिहान चितवनको भरतपुरमा नेता–कार्यकर्तासँगको भेटघाटमा उनले भने, “युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर, सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।”

घटनापछि आफू भदौ २३ गते राति नै काठमाडौं फर्केर पार्टीको आकस्मिक बैठक बसेको उनले बताए । सबैभन्दा पहिले माओवादी केन्द्रले आन्दोलनका मृतकलाई सहिद घोषणा, उच्चस्तरीय छानबिन गठन र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय सार्वजनिक गरिएको उनले उल्लेख गरे ।

“हामीले आन्दोलनलाई वैधानिकता दियौँ, प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गरियो र प्रत्यक्ष समन्वय गरेर देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्‍याउन पहल गरियो,” उनले भने ।

भदौ २४ गते सिंहदरबारमा प्रतिपक्षी दलको बैठक सकाएर बाहिरिने क्रममा सुरक्षाको जोखिम बढेको उनले बताए । त्यसपछि आफू स्वयंको पहलमा सुरक्षा खोज्दै नेपाली सेनाको समन्वयमा सिंहदरबारभित्र सुरक्षित रहनुपरेको उनले स्पष्ट पार।

“हामीलाई कसैले लिएको होइन, हामीले परिस्थिति मूल्यांकन गरेर सुरक्षा संयन्त्रको सहायतामा सुरक्षित स्थानमा गयौँ,” उनले भने ।

प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको टिप्पणी गरे । सबै दल निर्वाचनतर्फ उन्मुख हुनुपर्नेमा उनले जोड दिए ।

उनले भने, “राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू, अन्तर्राष्ट्रिय समुदाय, सबैले निर्वाचन नै अबको प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन् । जनताले पनि परिवर्तनको मार्ग निर्वाचनमार्फत रोज्नेछन् ।”

संसद् पुनर्स्थापना हुन सक्ने भए पनि उक्त एजेन्डा अब गौण बनिसकेको उनले बताए । नेकपा (एमाले)बाहेकका सबै दल निर्वाचनमा जान सहमत भइसकेको उनको भनाइ छ ।

एमालेभित्र पनि बहुमत सदस्य चुनावका पक्षमा रहेको उनले जिकिर गरे । उनले भने, “ढिलोछिटो सबै दल चुनावमा जान्छन् ।”

पार्टी एकताका सन्दर्भमा उनले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिए।

“समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुन्छ । त्यो घोषणा केही दिनभित्र हुनेछ । हाम्रो एकताको दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने हो,” उनले भने ।

कार्यकर्तालाई उनले निर्वाचनलाई जनताका पक्षमा काम गर्ने अवसरका रूपमा लिन आग्रह गरे । “माओवादी केन्द्र अब फेरि जनताको विश्वास प्राप्त गरेर मूलधारको पार्टी बन्ने निश्चित छ,” उनले भने, “हामी सबैले एक भएर निर्वाचनमा जानुपर्छ


प्रतिकृया दिनुहोस्