
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् ।
उनले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले कमजोर नभएको बताए ।
‘कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भने ठानेको होला । यो भ्रम नपाले हुन्छ,’ ओलीले भने, ‘एमाले, राजनीतिक, आर्थिक विकासको नायकत्व दिइरहेको पार्टी हो । व्यवहारमा यसले पुष्टि गरेको थियो । देखाएको थियो ।’
उनले एमाले सरकारमा हुँदा र नहुँदा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकको प्रतिवेदनले देखाएको दाबी गरे ।
‘हामी सरकारमा हुँदा र हट्दा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकले भनेको छ । ३ प्रतिशत यही वर्ष आर्थिक वृद्धिदर घट्छ भन्यो,’ उनले भने ।
उनले पार्टीले देशको स्वाभिमान कायम गर्नका लागि काम गरेको बताए ।
यस्तै अध्यक्ष ओलीले देशमा प्रतिक्रान्तितर्फ गएको बताएका छन् । बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘आज देश अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको छ । त्यसबाट प्रतिक्रान्ति तर्फको, यदि हामीले प्रभावकारी ढंगले रोक्न सकेनौं भने देश त्यतातर्फ धकेलिएको छ ।’
उनले देश बर्बादीतर्फ धकेलिएको बताए । उनले भने, ‘यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुद्ध, भ्रष्टाचारमुक्त र विकास उन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ । अगाडि लानुपर्नेछ ।’
ओलीले राम्रो काम गरेको कारण एमाले सबैभन्दा बढी निसानामा परेको बताए ।


















