Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सभापतिको हिसाबले देउवाको आज अन्तिम सम्बोधनजस्तै भयो : गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २८ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले आजको केन्द्रीय समिति बैठकमा महत्त्वपूर्ण निर्णयहरू सुनाएको र सभापतिको हिसाबले यो अन्तिम सम्बोधनजस्तै रहेको प्रतिक्रिया दिएका छन्।

केन्द्रीय कार्यालय सानेपामा आज विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बुझाउन भेला भएका महाधिवेशन प्रतिनिधिहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले सभापति देउवाले केन्द्रीय समितिमा महत्त्वपूर्ण निर्णय गरेको र त्यसको सम्मानमा पनि पार्टीले आज अरू गतिविधि नगर्ने सल्लाह भएअनुसार भोलि मात्रै हस्ताक्षर बुझ्ने जानकारी गराएका हुन्।

‘सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति तोकेर बाँकी कुरा केन्द्रीय समितिलाई छाडेर जानुभएकोले पनि आज हामीले के निर्णय गर्यौ भने- आजको दिनमा चाहिँ हामी उहाँको एक प्रकारको अन्तिम केन्द्रीय समितिमा उपस्थित रहेकोले पनि उपस्थितिलाई सम्मान गर्दै केन्द्रीय समितिको अरू कामकारबाही अघि नबढाउनेमा पुग्यौं,’ उनले भने, ‘आज पार्टी कार्यालयमा सभापतिले केही महत्त्वपूर्ण निर्णय गर्नुभएको र उहाँको एकप्रकारले भन्ने हो भने सभापतिको हिसाबले आज अन्तिम सम्बोधनजस्तै पनि भयो, त्यसको पनि सम्मान गरौं। एकताको आह्वान पनि गर्नुभएको छ र १५ औं महाधिवेशन विधानअनुसार समयमै (मंसिर मसान्तभित्र)गर्ने भन्नुभएकोले आज अरू कामकारबाही गरिएन।’

उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार अपराह्न ३ बजे विशेष महाधिवेशन हस्ताक्षर बुझ्ने पनि बताए। ‘भोलि ३ बजे कार्यवाहक सभापतिले हस्ताक्षर बुझ्नुहुन्छ,’ महामन्त्री थापाले भने।

कांग्रेसमा ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष कारण खुलाएर विशेष महाधिवेशन माग गर्ने तयारी भइरहेको छ।


प्रतिकृया दिनुहोस्