
काठमाडौं । नेकपा (माओवादी केन्द्र)केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा सदस्य सबैले धारणा राख्न पाउने भएका छन् ।
आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि समूहगत छलफलबाट निष्कर्ष निकाल्ने महासचिव देव गुरुङले जानकारी गराए । त्यसपछि बैठक केही बेर प्रभावित भयो ।
केन्द्रीय सदस्य सुदन किराँती र रञ्जित तामाङले महासचिवको उक्त प्रस्तावको विरोध गरेका थिए । त्यसपछि सबै इच्छुक केन्द्रीय सदस्यले धारणा राख्न पाउने भएका हुन् ।
बैठकमा हाल प्रचण्डको प्रस्तावमाथि पदाधिकारीले धारणा राखिरहेका छन् । पदाधिकारीपश्चात् इच्छुक केन्द्रीय सदस्यले धारणा राख्न पाउने प्रचण्डको सचिवालयले जनाएको छ ।
यही असोज ५ गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले केन्द्रीय कमिटी भंग गरेर विशेष महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरेका थिए । जारी केन्द्रीय कमिटी बैठकबाटै विशेष महाधिवेशन आयोजक समिति गठन गरिने जनाइएको छ ।
आउँदो मंसिर अन्तिम साता हुने विशेष महाधिवेशनका निम्ति प्रचण्डकै संयोजकत्वमा आयोजक समिति गठन गर्ने तयारी छ ।


















