Skip

Hamro Sanchar

हामीसँग आँसु बगाउँदै पश्चाताप गरेर खेर फाल्ने समय छैन : शेखर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २८ गते


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेससँग आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय नरहेको बताएका छन् ।

उनले विगत केही समय कांग्रेस आम नेपालीको अपेक्षाअनुरुप खरो उत्रिन नसकेको स्वीकार गरेका छन् ।

“यसको लागि गर्नुपर्ने प्रायश्चित गर्न हामी पछि पर्दैनौँ, गर्नुपर्छ,” उनले भनेका छन्, “फेरि एकपटक लोकतान्त्रिक इतिहासका ति योद्धा, नेता र सहिदहरूलाई सम्झेर कांग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्नेछ ।”

जेन्जी आन्दोलनपछि परिवर्तित परिस्थितिलाई सम्बोधन गर्दै कोइरालाले समाज र युवा पुस्ताको परिवर्तनको चाहनालाई बोक्नसक्ने कांग्रेस बनाउनुपर्ने बताएका छन् । त्यसका लागि कांग्रेस जनले अब तत्काल अभियानमा जुट्नुपर्ने उनको भनाइ छ ।

“नेपाली समाजमा परिवर्तनको तीव्र चाहना छ । हाम्रा युवा आफ्नै देशमा आफनो सुन्दर र समृद्ध भविष्यको खोजीमा छन्,” उनले भनेका छन्, “कांग्रेस त्यसको माध्यम बनोस् र बन्नुपर्छ भन्ने आम नागरिकको चाहना छ । हाम्रो भावी धेय यसैमा केन्द्रित हुनुपर्छ ।”

जेन्जी आन्दोलनका नाममा भएको सरकारको विस्थापनलाई उनले समयको पदचापअनुरूप हिँड्न नजान्दाको परिणाम भएको बताएका छन् । यसमा कांग्रेसका तर्फबाट केही रणनीतिक कमजोरी भएको पनि उनले स्वीकार गरेका छन् ।

“समयको पदचापअनुरुप हामी हिँड्न नजान्दा जेनजीको आन्दोलनले दुई ठूला राष्ट्रिय दललाई सत्तावाट बाहिरिन वाध्य पार्‍यो,” उनले भने, “नेपाली समाज र यहाँका उर्जावान युवा एकातिर छन्, कांग्रेसको सोच र दृष्टिकोण अर्कोतिर बग्यो । केही रणनीतिक भूल भए, हामी चुक्यौँ ।“

उनले कांग्रेसभित्र सत्ताको केन्द्रमा बस्ने र बाहिर पर्नेहरूको बहस सकिएको भन्दै अब जनताको केन्द्रमा बस्ने समय आएको बताए


प्रतिकृया दिनुहोस्