
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् ।
कार्कीको शपथ ९ बजे हुनेछ । यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालको टोली शीतलनिवास पुगेको थियो ।
आन्दोलनरत जेन-जी युवाहरूको मागअनुरूप सुरूमै संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको शितल निवास स्रोतले बतायो ।
यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । असामान्य परिस्थितिलाई ध्यानमा राख्दै दिइएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए ।














