Skip

Hamro Sanchar

शेखर समूहले संस्थापन पक्षले गरेको कारबाहीलाई अस्वीकार गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २६ गते


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीको संस्थापन पक्षले गरेको अनुशासनको कारबाहीलाई अस्वीकार गर्ने निर्णय गरेको छ।

आज बिहान नेता कोइरालाको सम्पर्क कार्यालयमा विशालनगरमा बसेको कोइराला समूहको बैठकले संस्थापन पक्षले अनुशासनको नाममा गरेको कारबाही पूर्वाग्रह प्रेरित रहेको निष्कर्ष निकालेको छ।

बैठकपछि नेता कोइरालाले संस्थापन पक्षले गरेको अनुशासनको कारबाही अवैधानिक भएको बताए। ‘कारबाही अवैधानिक छ। व्यक्तिहरु छानीछानी कारबाही गरिएको छ, यो अस्वीकार्य छ,’ कोइरालाले भने।

आजको भेलाले केही समयपछि अर्को ठूलो भेला गर्ने निष्कर्ष निकालेको छ। हिजो पार्टी संस्थापन पक्षले गरेको कारबाहीको निर्णयलाई अस्वीकार गर्ने निर्णय पनि कोइराला पक्षले गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले कोइराला पक्षका नेताहरूलाई कारबाही गरेपछि नेता कोइरालाले आज आफ्नो सम्पर्क कार्यलयमा आफू पक्षीय नेताहरूको बैठक बोलाएका हुन्।

कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने र न्याय दिलाएरै छाड्ने निष्कर्ष बैठकले निकालेको छ। कारबाही पार्टी विधान बिपरित र एकातर्फी भएको ठहर पनि बैठकले गरेको छ।

सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने निष्कर्ष निकाल्दै बैठकले कारबाही निर्णयको राजनीति रुपमा शसक्त प्रतिरोध गर्ने निष्कर्ष पनि निकालेको छ।

 


प्रतिकृया दिनुहोस्