Skip

Hamro Sanchar

आफू पक्षका नेता कार्यकर्ता कामकारबाहीमा परेपछि शेखर समूहको भेला बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २६ गते


काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफूपक्षीय नेताहरूको बैठक बोलाएका छन्।

पार्टी अनुशासन समितिले कारबाही गरेका नेताहरूमा अधिकांश आफ्ना पक्षका परेको भन्दै रुष्ट रहेका शेखरले आज बिहान ८ बजेका लागि बैठक बोलाएका हुन्। बैठक उनकै सम्पर्क कार्यालय विशालनगरमा बस्नेछ।

‘आफ्नो पक्षका केन्द्रीय सदस्य, मन्त्री, सांसद र नेताहरूलाई शेखर दाइले बोलाउनु भएको छ’ उनीनिकट एक नेताले भने, ‘बैठकमा अनुशासन समितिको कारबाहीको विषयमा कुरा हुने भनिएको छ। बाँकी आज थाहा हुन्छ।’

अनुशासन समितिले लुम्बिनीका महामन्त्री, खोटाङका जिल्ला सभापति र कास्कीका निवर्तमान जिल्ला सभापतिसहित १८ नेतालाई कारबाही गरेको छ।

लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई र कास्कीका निवर्तमान सभापति कृष्ण केसी शेखर समूहका नेता हुन्। यीबाहेक कारबाहीमा परेका अधिकांश नेताहरू शेखर समूहकै रहेको उनीहरूको दाबी छ।

यसअघि हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि शेखरले अनुशासन समितिको भूमिकामाथि प्रश्न उठाएका थिए ।


प्रतिकृया दिनुहोस्