Skip

Hamro Sanchar

मैले प्रधानमन्त्रीसँग गएका मानिस फर्किएनन् भनेको छैन : सोविता गौतम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २५ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा स्पेन गएका मानिस नफर्किएको नभनेको स्पष्ट पारेकी थिइन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद गौतमले आफूले समाचारमा आएका विषयमा संसद्को ध्यानाकर्षण गराउँदा आफ्नो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिएकोप्रति आपत्ति जनाइन् ।

हिजो मैले बोलेको कुरा संसद्‌बाट हटाउनसमेत माग भएको रहेछ । पछि थाहा भयो, प्रधानमन्त्रीज्यूको सचिवालयबाट चुनौती पनि आएको रहेछ । केही माननीयज्यूहरूले बतासे केटाकेटी पनि भन्न भ्याउनुभएको रहेछ । सभामुख महोदय, रास्वपा जिम्मेवार पार्टी हो । मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन । राम्रोसँग कान खुलेर सुन्नुहोस्,उनले भनिन् ।

सांसद गौतमले प्रधानमन्त्रीको साथमा नगए पनि उनी सहभागी कार्यक्रममा जाने बताएर गएका नागरिक नफर्किएको सत्य भएको जिकिर गरिन् ।

मंगलबार गौतमले प्रतिनिधिसभा बैठकमै प्रधानमन्त्रीको साथमा स्पेन गएका केही व्यक्ति नफर्किएको दाबीसहित आएका विषय उठाएकी थिइन् ।

उनले भनेकी थिइन्, स्वयं सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिस कार्यक्रममा सहभागी हुने बहाना गएर नफर्किएको भन्नेलगायत समाचार आइरहेका छन् । व्यक्ति विशेष कसैप्रति पनी हाम्रो आरोप छैन, तर यो विषय अत्यन्तै गम्भीर छ ।


प्रतिकृया दिनुहोस्