Skip

Hamro Sanchar

चैते बाढीले भत्कायाे उदयपुरमा बन्दै गरेको पक्की पुल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २७ गते


काठमाडौं । उदयपुरको कटारी नगरपालिका-२ सिद्धिचरण लोकमार्ग स्थित सिमानपुर र कल्याणपुर जोड्ने अमाहा खोलामा बन्दै गरेको पक्की पुल भाँचिएको छ ।

बुधबार रातिको वर्षापछि अमाह खोलामा बाढी आउँदा निर्माणाधीन पक्की पुल भाँचिएको स्थानीयले बताएका छन् ।

२० दिन अघि मात्रै उक्त पुल ढलान गरिएको थियो । रातिको बाढीले टेका बगाएपछि पुल लच्किएको छ ।

मिर्चैया – कटारी – घुर्मी सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्र प्रसाद महतोका अनुसार ढलान गर्दा पुलमा लगाइएका टेकाहरू बाढीका कारण भासिँदा पुल लच्किएको हो ।

मिर्चैया (कटारी – घुर्मी सडक योजना कार्यालयमार्फत सूर्या एन्ड सन्स इटहरीले उक्त पुल निर्माणको जिम्मा लिएको थियो।

बीचमा पिल्लर नै नभएको ५० मिटरको प्री स्टेस ९ बक्स अर्डर ० पुल २९ असार २०७९ मा सम्झौता भएको थियो ।

उक्त पुल सहित ४ वटा पुल २९ असोज २०८२ मा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । निर्माण सम्पन्न नहुँदै पुल भाँचिएपछि स्थानीय आक्रोशित बनेका छन् ।


प्रतिकृया दिनुहोस्