
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई माओवादीले नै ठूला दल बनाएको दाबी गरेका छन् ।
विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस-एमाले आफैं ठूला नभएको बताउँदै माओवादीले नै ठूला दल बनाइदिएको दाबी गरे ।
‘कांग्रेस र एमालेलाई पछिल्लो समय ठूलो पार्टी बनाउन सहयोग गरेको माओवादीले हो । देशको आवश्यकता अनुसार समझदारीबाट जाऔं भन्ने जिम्मेवारी बोधका कारणले हामीले उनीहरुलाई ठूलो बनाएको हो । उनीहरु आफैं ठूलो भएका होइनन्’, उनले अघि भने, ‘जब हामीले छौड्यौं उनीहरु ठूलो हुन पनि छोडे ।’
उनले पछिल्लो समय भएको उपचुनावको उदाहरण दिंदै माओवादीले साथ छोडेपछि कांग्रेस-एमाले खस्किंदै गएको दाबी गरेका हुन् ।
गत उपचुनावमा कोशीका ८ पदका लागि भएको चुनावमा एक्लै लड्दा पनि माओवादी पहिलो दल भएको बताउँदै उनले माओवादीले साथ छोड्दा कांग्रेस एमाले सानो हुँदै गएको बताए । उनले पत्रकारलाई प्रश्न गर्दै भने, ‘उपचुनाव त यहाँ धेरै ठाउँमा भएको थियो । ग्रामथानमात्रै त होइन । ८ ठाउँमा चुनाव भयो हामी एक नम्बर पार्टी भयौं । कसरी भयौं ? अघिल्लो रेकर्ड हेरेर हुन्छ ’
पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सुशासनको अभियान चलाउँदा भ्रष्टाचारीहरुले आफ्नो सरकार ढलाएको बताए । त्यही भ्रष्टाचारविरुद्धको अभियानलाई अहिले जनतामाझ लिएर गएको उनको भनाइ छ ।