
काठमाडौं, माघ २७- पाठेघर क्यान्सर नियन्त्रणका लागि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले ६ हजार नौ सय किशोरीलाई एचपिभी खोप लगाउने भएको छ ।
१० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई मंगलबार(माघ २२) देखि फागुन ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमार्फत खोप दिने भएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाले वडा नम्बर-७ को आनन्द भैरव माविबाट अभियानको उद्घाटन गरेको हो । अभियानको उद्घाटन नगर उपप्रमुख शान्ता थापाले गरेकी हुन् । उद्घाटन कार्यक्रममा वडाअध्यक्ष भीमसेन थापा, स्वास्थ्य शाखा प्रमुख तुलाजा लामा, प्रधानाध्यापक सरस्वती थापा कार्की, वडासदस्यहरु लगायत स्वास्थ्य शाखाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अभियान सफल बनाउन स्वास्थ्य शाखाले यसअघि नगर स्तरीय खोप समन्वय समिति, सरोकारवाला तथा संचारकर्मीहरुको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।
नगरपालिकाका छ हजार ८ सय ९३ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।
नगरपालिकामा ६४ खोप केन्द्र स्थापना गरिनेछ । प्रत्येक केन्द्र रहने विद्यालयमा एकजना भ्याक्सिनेटर र दुईजना स्वयम्सेवक रहने व्यवस्था मिलाइएको खोप फोकल पर्सन ज्ञान बहादुर महतले बताए ।
महिलाहरूमा हुने पाठेघर क्यान्सर विश्वभर नै गम्भीर जनस्वास्थ्य समस्या मानिन्छ । नेपालमा क्यान्सरका कारणले हुने महिलाको मृत्युमा पाठेघर क्यान्सर पहिलो स्थानमा छ । प्रत्येक वर्ष नेपालमा २,१६९ महिलामा यो रोग देखिने गरेको छ भने १,३१३ जनाको मृत्यु हुने तथ्यांक छ ।
एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हो । यो भाइरसका २०० भन्दा बढी प्रकार छन्, जसमा १२ प्रकार क्यान्सर गराउने मुख्य कारक मानिन्छन् । विशेषगरी १६ र १८ प्रजातिका भाइरस नेपालमा ८० प्रतिशत क्यान्सरका घटनामा जिम्मेवार मानिन्छन् ।
नेपाल सरकारले नियमित कार्यक्रम र विशेष अभियानमार्फत देशभर १६ लाख ८८ हजार ७६८ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य राखेको छ ।
एचपिभी भाइरस के हो?
एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारण हो । यो भाइरसका २०० भन्दा बढी प्रकार हुन्छन् ।
तीमध्ये १६ र १८ प्रजाति सबैभन्दा घातक मानिन्छन् । नेपालमा हरेक दिन औसतमा चार महिलाको मृत्यु पाठेघर क्यान्सरका कारण हुने गरेको छ ।