काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ।
प्रधानमन्त्रीको भ्रमणबारे छलफलका लागि समितिले आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको थियो।
तर, अन्तिम समयमा आएर मन्त्री राणाले व्यवस्थताका कारण आउन नभ्याउने भनेपछि बैठक स्थगित भएको समिति सचिवालय स्रोतले जानकारी दियो।
औपचारिक घोषणा भइनसकेको भए पनि प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि भन्दै नेपाली कांग्रेस र नेकपा एमाले नेताहरु रहेको संयन्त्र गठन भएको छ। जसमा परराष्ट्रमन्त्री राणा पनि सदस्य रहेकी छिन् ।