काठमाडौं, जेठ ५- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतको छलफल चलिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू बालुवाटार पुगेका हुन् ।
स्रोतका अनुसार, देउवासँग महामन्त्री गगन कुमार थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् । संसद्मा जारी गतिरोध अन्त्य गर्नेगरी प्रधानमन्त्री प्रचण्डले शनिबार बिहानैबाट छलफल थालेका हुन् ।
आजै बिहान पनि कांग्रेस नेताहरू प्रधानमन्त्री भेट्न बालुुवाटार पुुगेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्ड संसदीय छानबिन समिति बनाउन सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका थिए । सभामुख देवराज घिमिरेले भोलि (आइतबार) बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् ।
सो बैठकअघि एक खालको सहमति जुट्ने प्रधानमन्त्री प्रचण्डले शनिबार एक पुस्तक विमोचन कार्यक्रममा बताएका थिए ।