Hamro Sanchar

एमालेको बहुमतको सरकार भएमात्रै मुलुक विकासको अभियानले तीव्रता पाउँछ : ईश्वर पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १६ गते


Advertisement

काठमाडौं, बैशाख १६- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तीव्रता बताएका छन् ।

धनुषाको विदेह नगरपालिकामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भएमात्रै मुलुकमा विकास अभियानले तीव्रता पाउने बताएका हुन् । उनले एमालेको नेतृत्वमा बहुमतको सरकार नहुँदा चाहे अनुरुप काम गर्न कठिनाइ भइरहेकाले २०८४ मा एमालेलाई सबैभन्दा ठूलो दलको रुपमा जिताउन आग्रह गरे । एमालेले बहुमत ल्याउनका लागि कार्यकर्ताहरुले अहिलेदेखि नै खट्नु आवश्यक रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने र यसका लागि एमाले लागि परेको बताए । उनले एमालेले कृषि र सिँचाइमा बढी जोड दिएर काम गरिरहेको पनि बताए ।

‘एमाले सम्पूर्ण नेपालीको पार्टी हो, एमाले मधेसी पहाडी वा हिन्दु मुस्लिमको पार्टी होइन, नेपालमा बसोवास गर्ने सबै नेपालीको पार्टी हो । त्यसैले एमालेमाथि चौतर्फी आक्रमण हुँदासमेत यहाँका मधेसी जनतालगायत सम्पूर्ण नेपालीले बचाए र हामीले त्यो षड्यन्त्रलाई विफल पार्न सफल भयौँ ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।

कार्यक्रममा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सम्पूर्ण एमालेका नेता तथा कार्यकर्ताहरुले २०८४ मा देशको प्रधानमन्त्री र प्रदेशहरुको मुख्यमन्त्री एमालेको हुने सपना देखिरहेको बताए । यो सपना पूरा गर्नका लागि अहिलेदेखि नै लाग्नु आवश्यक रहेको बताए ।

सचिव भट्टराईले पार्टीभित्रको सुदृढ एकताबाट नै देशलाई विकासको गतिमा अघि बढाउन सकिने बताए ।


प्रतिकृया दिनुहोस्