Hamro Sanchar

प्रबिधिमैत्री बन्दै गान्धी आदर्श मावि, कक्षा १० र ११-१२ मा स्मार्ट बोर्डमार्फत कक्षा संचालन

प्रदिप नेपाली प्रकाशित : २०८१ बैशाख, १० गते


Advertisement

काठमाडौं, बैशाख १०- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा रहेको श्री गान्धी आदर्श माध्यमिक विद्यालयमा स्मार्ट कक्षा संचालन हुने भएको छ ।

विद्यार्थीलाई प्रविधिको प्रयोग गरी स्मार्ट बोर्डमार्फत अध्ययन गराउन विद्यालयले आफ्नै निजी श्रोतबाट स्मार्ट कक्षाको संचालन गर्न लागेको हो । जसका लागि आइतबार स्मार्ट बोर्ड जडानको कार्य सम्पन्न भैसकेको छ । स्मार्ट बोर्ड मार्फत अध्यापन सुरु भएपछि कक्षा १० का ३ वटा सेक्सन र कक्षा ११,१२ का विद्यार्थीले अध्ययन गर्न पाउनेछन् ।

स्मार्ट बोर्डको प्रयोगबाट पढाउँदा सिकाइ दिगो, समयको बचत र प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक गणेश चन्दले बताए । उनकाअनुसार यस्तो बोर्डको प्रयोग सबैको स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्यायले आधुनिक प्रविधीबाट शिक्षण सिकाई कार्य प्रभावकारी हुने हुनाले शिक्षक र विद्यार्थीमा पनि उत्साह थपिने विश्वास व्यक्त गरे । उनले स्मार्ट बोर्डको प्रयोगले विद्यार्थीलाई स्मार्ट हुन थप सहयोग पुग्ने बताए । विद्यालयमा अधिकांश विद्यार्थी निम्न आय भएका र काठमाडौं बाहिरका अध्ययन गर्न आउने भएकाले यस्ता विद्यार्थीलाई नयाँ युगसँगै प्रविधिमैत्री बनाउन विद्यालय लागि परेको बताए ।

साथै अध्यक्ष उपाध्यायले निजी विद्यालयबाट सामुदायिक विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यार्थीहरुको चाप बढेकोमा खुशी व्यक्त गरे ।

स्मार्ट बोर्डमार्फत् तालिम प्राप्त शिक्षक शिक्षिकाबाट शिक्षण सिकाइ हुने भएपछि विद्यार्थीहरू पनि उत्साहित भएका छन् ।

प्रबिधिमैत्री बन्दै हुँदै गएको विद्यालयमा केहि यसअघि नै शुद्ध खानेपानी र सिसिटिभी जडान गरिएको छ । यस्तै विद्यालयमा कक्षा कोठा र विद्यालयका ठाउँ-ठाउँमा ५१ वटा सिसिटिभी जडान गरिएको छ । यसले मोनिटरिङलाई सजिलो भएको छ । भने विद्यालयमा बालमैत्री डेस्कबेन्च, इन्टरनेट, सुविधायुक्त पुस्तकालय, चमेनागृह रहेको छ ।

विद्यालय ब्यबस्थापन समिति अबका दिनमा पनि थप सुधार र प्रतिफल ल्याउने तर्फ केन्द्रित रहेको अध्यक्ष उपाध्यायको भनाइ छ ।

गान्धी आदर्श नगरपालिकाकै सबैभन्दा ठुलो र धेरै विद्यार्थी अध्ययन गर्ने विद्यालयका रुपमा रहेको छ ।


प्रतिकृया दिनुहोस्