Hamro Sanchar

आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबु पुन: पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, ९ गते


काठमाडौं, पुस ९- आरती साह मृत्यु प्रकरणमा साहका श्रीमान मोतीबाबु साह पक्राउ परेका छन् । धनुषा प्रहरीले साहका श्रीमान मोतीबाबुलाई आज बिहान जनकपुरको सीता चोकबाट पक्राउ गरेको हो ।

मोतीबाबुलाई सूचनाको आधारमा जनकपुधाम वडा नम्बर १ मा रहेको सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरिएको हो । उनले पक्राउ परेका मोतीबाबुलाई सार्वजनिक विदा पछि अदालतमा पेश गरिने पनि बताए ।

गत मङ्सिर २० गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आरतीका श्रीमानलाई थुनामा पठाउने आदेश दिएको थियो ।

आरती गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् ।

आरतीले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीलाई खबर गरेका थिए भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएका थिए । माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।

तर, उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो ।

छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनी, भई मामा लगायत करिब तीनमहिनादेखि काठमाडौंको माइतीघरमण्डलमा धर्ना दिँदै आएका थिए ।

आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो । दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको आरोप छ ।


प्रतिकृया दिनुहोस्