
काठमाडौं, असोज १२- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार छेन्दु जाँदै छन् ।
प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट बिहान छेन्दु जान लागेका हुन् ।
स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
दाहाल स्थानीय समयअनुसार अपराह्न २स्३० बजे छेन्दु पुग्नेछन् । त्यहाँ उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ । त्यसपछि उनले चिनिया कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्नेछन् । साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन् ।
बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्रीले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए । ल्हासामा रहँदा उनले विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण पनि गरेका थिए ।
प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् । उनी शनिबार छेन्दुबाटै काठमाडौँ फर्किनेछन् ।


















