Skip

Hamro Sanchar

मधेसमा भइरहेका घटनाबारे नयाँ ढंगले निर्णय गर्दैछौं : गृहमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ७ गते


सर्लाही, असोज ७- सर्लाही लगायतका मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटनाबारे नयाँ ढंगले निर्णय लिनका लागि सरकारले तयारी गरिरहेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको तर अवस्था बिग्रिँदै गएकाले सरकारले नयाँ ढंगले निर्णय लिन लागेको गृहमन्त्री श्रेष्ठले बताएका हुन् ।

सर्लाही, पर्सा लगायतका जिल्लामा पछिल्लो दिनमा भइरहेका साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र त्यहाँ चिन्ताजनाक घटना भइरहेको गृहमन्त्रीको भनाइ थियो । आइतबार बिहान सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको सहभागितामा बैठक बसेको र त्यसमाथि सरकारले गम्भीरतापूर्वक लिइरहेको गृहमन्त्रीको भनाइ थियो । प्रशासनिक रूपमा निर्णय गर्न पनि गम्भीर छौं । यी घटनाबारे गम्भीर छौं, दृढ भएर जान्छौं, उनले भने ।

सुरुमा प्रशासनिक निर्णय गर्दा समस्या हुन्छ कि भनेर कुरेको तर अब भने प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ थियो ।
नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भएको तर त्यसमा आँच पुर्‍याउने र खलल पार्ने कार्य भइरहेको भन्दै त्यसप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

कोसी प्रदेशमा पनि सुरक्षा संवेदनशीलता रहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । उनले सुरक्षा संवेदनशीलता बुझ्नका लागि आइतबार कोशी प्रदेश जान लागेको जानकारी दिए । यसअघि राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले पनि मधेस प्रदेशलगायतमा साम्प्रदायिक सद्भावमा खलल पारेर सुरक्षा चुनौती थप्ने कार्य भइरहेको बताएका थिए । कोसी प्रदेशमा पनि पहिचानका मुद्दाले समस्या ल्याएको बताएका थिए ।

समितिको बैठकमा एमालेका रघुजी पन्त, लोसपाका सर्वेन्द्रनाथ शुक्लले मधेस प्रदेशमा साम्प्रदायिक घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।


प्रतिकृया दिनुहोस्