Skip

Hamro Sanchar

शर्मा सर्वोच्चको न्यायाधीशमा सर्वसम्मतिले अनुमोदन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २९ गते


काठमाडौं, भदौ २९–सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले शर्माको सुनुवाइ गर्ने निर्णय गरेपछि उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

न्यायपरिषद्ले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा नियुक्तिका लागि प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्लाई दोस्रो पटक लेखिपठाएको थियो । शर्माको नाम सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।

अनुमोदन भएसँगै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताएका छन् । आज सिंहदरवारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो भावी योजना प्रस्तुत गर्ने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रस्तावित न्यायाधीश शर्माले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने बताए । अदालतले तर्जुमा गरेको रणनीतिक योजनामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको सन्तुलन, नियन्त्रणको सिद्धान्तलाई नेपालको अदालतले अंगीकार गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउनुपर्नेसमेत बताए ।

 


प्रतिकृया दिनुहोस्