Skip

Hamro Sanchar

पशुपतिनाथको गर्भगृहको भुइँको भाग खोतलेर बढार्ने क्रममा भेटियो थप ४३ तोला सुन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २२ गते


काठमाडौँ, असार २२- शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको गर्भगृहमा स्थापित जलहरीमुनिको भागमा थप ४३ तोला सुन भेटिएको छ ।

जलहरी राखिएको गर्भगृहको भुइँको भाग खोतलेर बढार्ने क्रममा उक्त परिमाणको सुन भेटिएको हो । पशुपति क्षेत्र विकास कोषका निर्देशक डा.घनश्याम खतिवडाले सुन खोज्ने क्रम जारी रहेको बताए । तर उनले कति परिमाणमा थप सुन भेटिएको विषयमा खुलाउन चाहेनन् ।

‘केही सुन जहलरीमुनिको भागमा सफाइ गर्ने क्रममा भेटिएको छ । तर कति परिमाण हो भन्ने अहिले एकिन भइसकेको छैन’, उनले भने, ‘हामी खोजबिन गरिरहेका छौँ। भरेसम्म कति परिमाण भन्ने एकिन हुन सक्छ।’

पशुपतिको गर्भगृहमा लगाइएको १०७ केजी ९२४.७४ ग्राम सुन बराबरको जलहरीको हिसाब अझै मिल्न सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा लगाइएको सुनको जलहरीको हिसाब नमिलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।

अख्तियारले जलहरी निकालेर जोख्दा करिब आधा केजी सुन नपुगेको पाइएको थियो । तर त्यसअघि नेकपा माओवादी केन्द्रका सांसदहरुले जहलरीको १० केजी सुन गायब गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका थिए ।

जलहरीमा प्रयोग भएको सुनको हिसाब नमिलेपछि अझै खोजबिन भइरहेको छ । त्यहीक्रममा गर्भगृहबाट थप ४३ तोला सुन निकालिएको हो ।


प्रतिकृया दिनुहोस्