
काठमाडौं, असार १८- नेपाल क्रिकेट संघ (क्यान) मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन गर्ने निर्णयबाट पछि हटेको छ । नगरपालिका साथै स्थानीयवासी, खेलप्रेमी, राजनैतिक दल एवम् सरोकारवालाहरुको चौतर्फी विरोधपछि क्यानले मैदानको नाम परिवर्तन नगर्ने निर्णय गरेको हो ।
सोमबार कागेश्वोरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम यथावत रहने पत्र नगरपालिकालाई प्राप्त भएको जानकारी गराएका हुन् ।
क्यानले शुक्रबार संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा भन्दै मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन गरेर जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान नामाकरण गरेको बताएको थियो ।
संघको निर्णय सार्वजनिक भएलगत्तै नगरप्रमुख काकीले आपत्ती जनाएका थिए । उनले क्यानको निर्णयले मुलपानी र कागेश्वोरी मनोहराको नाम मेटाउने प्रयास भएको भन्दै आफुहरुलाई कुनैपनि हालतमा स्वीकार्य नहुने चेतावनीसमेत दिएका थिए ।
नगरप्रमुख काकीको चेतावनी पश्चात् आइतबार संघले एक विज्ञप्ति जारी गर्दै सहमतिमै मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानको नामकरण गरिने बताएको थियो । संघका अध्यक्ष चतुर बहादुर चन्दले नगरपालिका, स्थानीयवासी, खेलप्रेमी, राजनैतिक दल एवम् सरोकारवालाहरु सँगको छलफल पश्चात् सहमतिमै निर्णय गरि नामकरण गरिने प्रतिबद्धता व्यक्त गरेपनि स्थानीयले निरन्तर दबाब र बिरोध जारी राखेपछि क्यानले मैदानको नाम यथावत नै रहने बताएको हो ।
स्थानीयले मुलपानी र कागेश्वोरी मनोहराको नाम मेटाउने प्रयास भएको भन्दै आइतबार मुलपानीमा रहेको क्यानको केन्द्रिय कार्यालयमा नाराबाजीसहित तालाबन्दी नै गरेका थिए भने सामाजिक संजालमा चर्को बिरोध गरेका थिए । तालाबन्दी गर्न पुगेका स्थानीयले हाम्रो पहिचान मेट्न पाइदैन, यस्तो संस्था चाहिदैन, क्रिकेट संघ मुर्दावाद भन्दै नारावाजी गरेका थिए ।
नगरप्रमुख काकीले मैदानको नाम यथावत कायम राख्ने प्रतिवद्धतासहित नगरपालिकालाई पत्र प्राप्त भएकोले सम्पूर्ण विरोधका कार्यक्रम हाललाई स्थगित गर्न सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।
मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान कागेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर- ६ मा पर्छ ।
गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएपछि मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो ।



















