Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकाको बजेट २ अर्ब ३८ करोड ६५ लाख, यी हुन् प्राथमिकताका क्षेत्रहरु

प्रदिप नेपाली प्रकाशित : २०८० असार, १० गते


काठमाडौँ, असार १०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागी कुल २ अर्ब ३८ करोड ६५ लाख ८० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । नगरसभाको आठौं अधिबेशनमा नगर उप-प्रमुख शान्ता थापाको तर्फबाट नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मुकुन्द प्रसाद गजुरेलले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

चालु वर्षका लागि नगरपालिकाले २ अर्ब ७ करोड ७० लाख ७४ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

थलीको आस्था पार्टी प्यालेसमा आइतबार आयोजित आठौं अधिबेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा सामाजिक क्षेत्र, व्यवस्थित शहरी विकाससहितको भौतिक पूर्वाधार, चार बर्षभित्र घर-घरमा स्वच्छ खानेपानी, नगरपालिकामा रहेको नगर अस्पताल लगायत सम्पूर्ण स्वास्थ्य केन्द्रहरु र शहरी स्वास्थ्य केन्द्रको क्षमता विस्तार र सुधार, ज्येष्ठ नागरिकलाइ घरदैलोमा नि:शुल्क स्वास्थ्य उपचार सेवा, विद्यालय स्वास्थ्य कार्यक्रमलाइ प्राथमिकता र नगरलाइ खेलकुद नगरको रुपमा विकास गर्ने योजना रहेको जानकारी गराए ।

“सबल, सक्षम, सुशासनयुक्त, विकासमुखी स्थानीय सरकार” नारा दिएको नगरपालिकाले दिगो र गुणस्तरीय पूर्वाधार विकास, सर्वसुलभ, रोजगारमुलक, संस्कारयुक्त र गुणस्तरीय शिक्षा, सर्वसुलभ र गुणस्तरीय विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा, रोजगारमुलक सीप विकास एवम् उद्यमशिलता प्रवर्द्धन, कृषि क्षेत्रलाई आधुनिक बनाई उत्पादन अभिवृद्धि गर्दै आर्थिक विकास गरि गरिबी निवारण गर्ने, प्रशासनिक सुशासन कायम गर्दै सूचना प्रविधिमा आधारित सेवा प्रवाह र चुस्त एवम् दुरुस्त, दिगो आधुनिक र ब्यबस्थित बसोबासका निमित्त पूर्वी उपत्यका सहरी विकास आयोजना कार्यान्वयन, खेलकुद पूर्वाधार विकास एवम् विद्यालय स्तरदेखि खेलाडी उत्पादन, विकास आयोजना छनोट तथा संचालन गर्दा जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय श्रोत साधन र सिपको अधिकतम प्रयोग गर्ने, महिला, दलित, अपांग, आदिबासी, जनजाती, अल्पसंख्यक र बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने, समावेसी र दिगो विकास, वातावरणीय संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्याउने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिबृद्धिमा सघाउ पुर्याउने जस्ता क्षेत्रहरु प्राथमिकता राखेको छ ।

यस्तै पूर्वी उपत्यका नयाँ शहरी विकास आयोजना र नगरपालिकालाई खेलकुद नगरीको रुपमा विकास गर्ने आयोजनालाई नगर गौरवको आयोजनाको रुपमा अगाडी बढाउने भएको छ ।

यस्तै खेलकुद हव, वैज्ञानिक र ब्यबस्थित फोहोरमैला विसर्जन केन्द्र आदि निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा समावेश छ ।

नगर सभाको उद्घाटन सत्र कार्यपालिका सदस्यहरु, नगर सभासदस्य सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला कार्यक्रम संचालन गरेका थिए ।

नगरसभामा लेखा समिति संयोजक राममणी पुडासैनीले लेखा समितिको प्रतिवेदन पेस गरेका थिए भने सार्वजनिक सेवा क्षमता विकास समितिका अभापति मुकुन्द प्रसाद गजुरेलले समितिको तर्फबाट प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रममा नीति तथा कार्यक्रम र बजेटबारे वडाअध्यक्ष र नगरसभाका सदस्यहरुले आ-आफ्नो सुझाव र जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासालाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले कार्यक्रममा समावेश भएका बिषयहरु सबै मिलेर सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रतिकृया दिनुहोस्