काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गरेका छन् । मंगलबार आज अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गरेका हुन् ।
उनले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शङ्का व्यक्त गरेका छन्। उनले देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न लागेका जिकिर गरेका छन् । एमाले देशलाई बरबाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै अध्यक्ष ओलीले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताएका छन् । उनले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरू भइरहेको दाबी पनि गरेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताए । कसैले पनि संस्थागतरूपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको उनको भनाइ छ । कुनै पनि बाहानामा पढ्ने काम नछोड्न उनले विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले आउँदो स्ववियु चुनावमा अनेरास्ववियु विजयी हुने कुरामा विश्वास व्यक्त गरेका छन् । उनले नेपाल विद्यार्थी सङ्घले अनेरास्ववियुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी सङ्गठनहरू भर्खरै सिक्दै गरेका भनी टिप्पणी गरे। ओलील् नेविसङ्घलाई अनेरास्ववियुले जहिले पनि छक्का हान्दै आएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह समेत गरेका छन् ।