Hamro Sanchar

अँधेरीखोलामा झोलुङ्गे पुल निर्माण, सिम्टे र साँगुतेका यति धेरै घरधुरीले पाउँदैछन् सुबिधा

प्रदिप नेपाली प्रकाशित : २०७९ असार, १७ गते


Advertisement

काठमाडौं, असार १७- दोलखाको शैलुङ र मेलुङ गाउँपालिकामा पर्ने अँधेरीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । शैलुङ गाउँपालिका वडा नम्बर-७ को साँगुते र मेलुङ गाउँपालिका-१ को सिम्टे जोड्ने झोलुङ्गे पुल ४६ लाख ६८ हजार २१८ रुपियाँ लागतमा निर्माण सम्पन्न भएको हो ।

दिगो विकासका लागि नागरिक मंच सिभिक फोरम दोलखाले लगभग ४ महिनाको अवधिमा ११५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको उपभोक्ता समितिका सचिव सुजन शिवाकोटीले हाम्रोसंचारलाई जानकारी दिए । पुल असार १ गतेबाट संचालनमा आएको हो ।

पुल निर्माणका लागि दिगो विकासका लागि नागरिक मंचले ३४ लाख ६८ हजार २१८ रुपियाँ सहयोग गरेको थियो भने शैलुङ गाउँपालिकाले ६ लाख ६ हजार ८ सय ६८ रुपियाँ र स्थानीय श्रमदान मार्फत ९३ हजार ३६४ रुपियाँ प्राप्त भएको थियो । यसैगरी झोलुङ्गे पुल विकास इकाईले ५ लाख ४९ हजार बराबरको लठ्ठा र बुलडग सामग्री सहयोग गरेको थियो ।

पहिले प्रयोग गरिँदै आएको सिमेन्टको पुल

स्थानीयले अँधेरीखोलामा बर्षौ पहिले बनेको सिमेन्टको त्यो पनि भाँचिएको पुलबाट ज्यान जोखिममा राखेर आवतजावत गर्नु परेको थियो । पुल निर्माण भएपछि सिम्टे र साँगुतेका २८० घरधुरीका १४ सयभन्दा बढी जनताको आवागमन सहज बनेको छ । चारैतिरबाट पहाडले घेरिएका सिम्टे र साँगुतेका स्थानीयको लागि सुविधाका लागि पुल निर्माण गरिएपछि वर्षातको बेला हुने अप्ठयारो हटेर गएको छ ।

केहिदिन अगाडी नवनिर्मित पुलको माथिबाट बाटो खन्ने क्रममा माटो खसेर बाटो आवतजावतमा असुविधा भएको गुनासो आएको थियो । हाल त्यो माटो पन्छाएर आवतजावतलाई सहज बनाइएको उपभोक्ता समितिका सचिव शिवाकोटीले बताए ।


प्रतिकृया दिनुहोस्