नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो । पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम सम्पन्न भएसँगै सडक सहज भएको हो।
पहिरो प्रभावित घोप्टेभिरमा सडक व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउन प्रहरी टोली अझै परिचालन भइरहेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले सवारी आवागमन व्यवस्थापन, यात्रुको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणमा प्रहरी सक्रिय रहेको बताए ।
घोप्टेभिरमा सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गको मुग्लिन–पोखरा तथा मुग्लिन–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।
यद्यपि, नारायणगढ–मुग्लिन सडकखण्ड भने भोलि मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सडकखण्डको तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।
सडक बन्द हुँदा दिउँसो चितवनबाट काठमाडौँ तथा पोखरा आवतजावत गर्ने यात्रु प्रभावित हुनेछन् ।

























