काठमाडौं । बराह सहकारीको रकम हिनामिना प्रकरणमा मुख्य योजनाकार भनिएका शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।
गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत विश्वकर्माको पक्राउबारे जानकारी दिँदै बराह सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको बिगो हिनामिना भएको बताएका छन्।
गुरुङले धरानमा सञ्चालित ‘सेभ घोपा’ अभियानका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताहरूले भोग्नुपरेको पीडा नजिकबाट सुनेको स्मरण गरेका छन्। त्यतिबेलादेखि नै सहकारी पीडितको समस्याले आफूलाई झकझकाइरहेको उनको भनाइ छ।
उनले अभियन्ताका रूपमा रहँदा वा जेनजी आन्दोलनपछि तत्कालै केही गर्न नसके पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि पीडितलाई न्याय दिलाउन खोजी तीव्र पारिएको उल्लेख गरेका छन्।
मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको बताउँदै गुरुङले अब यस प्रकरणमा संलग्न अन्य दोषीहरूको समेत खोजी गरी कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।
सहकारीमा बचत गरेको रकम फिर्ता नपाउँदा लामो समयदेखि पीडित बनेका पूर्वका बचतकर्तालाई न्याय दिलाउने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

























