Skip
आज : २०८३ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धनुषामा रहस्यमय घटना : पत्नीको हत्या, पति पनि मृत फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ८ गते


Advertisement

८ कार्तिक, जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ भने उनका श्रीमान् पनि मृत अवस्थामा फेला परेका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्।

प्रहरीका अनुसार मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा ३० वर्षीया रिनादेवी यादवको शव फेला परेको हो।

उनको घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

धनुषाकै गणेशमान चारनाथ नगरपालिका–४ भरतपुरका ३५ वर्षीय उमेश यादव शनिबार राति करिब ९ बजे ससुराली पुगेका थिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा उनले आइतबार बिहान करिब पौने २ बजे पत्नीको हत्या गरेको जनाएको छ।

पत्नीको हत्यापछि फरार रहेका उमेशको खोजी गर्ने क्रममा घरबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटो नजिकै आँपको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका उनीहरूका चार वर्षीय छोरा सम्राटको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बालकको अवस्था खतरामुक्त छ।

प्रहरीले घटनास्थलबाट रगत लागेको चक्कुसमेत बरामद गरेको छ। रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ भने उमेशको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

उमेश केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको कारण भने खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्