काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
लिग–२ मा छैटौँ स्थान हासिल गर्ने लक्ष्यसहित मैदान उत्रन लागेको नेपाललाई जित्नैपर्ने दबाब छ।
ओमानको अल अमिरात रंगशालामा हुने खेल नेपाली समयअनुसार सोमबार बिहान ११ः१५ बजे सुरु हुनेछ।
नेपालले ओमानलाई पराजित गर्न सके लिग–२ को तालिकामा छैटौँ स्थान हासिल गर्नेछ। तर, पराजित भए नेपाल सातौँ स्थानमै सीमित हुनेछ। नेपाल पराजित भएको अवस्थामा क्यानडाको शीर्ष ६ मा रहने स्थानसमेत सुनिश्चित हुनेछ।
नेपालले यसअघि नै एकदिवसीय विश्वकप छनोटमा सीधा स्थान बनाउने अवसर गुमाइसकेको छ। अब नेपालले प्लेअफ खेल्नेछ।
हाल नेपाल ३५ खेलबाट २८ अंक जोड्दै तालिकाको सातौँ स्थानमा छ। यता, ओमान ३१ खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ। ओमानले एकदिवसीय विश्वकप छनोटमा आफ्नो स्थान यसअघि नै पक्का गरिसकेको छ।
नेपालले सुरुआती दुई खेलमा ओमान र क्यानडालाई पराजित गरेको थियो। तर, पछिल्लो खेलमा क्यानडासँग पराजित भएपछि नेपालको छैटौँ स्थानमा पुग्ने सम्भावना अन्तिम खेलको नतिजामा निर्भर बनेको छ।
यता, ओमानले पहिलो खेलमा क्यानडालाई हराएको थियो भने नेपाल र क्यानडासँगका पछिल्ला खेलमा हार बेहोरेको थियो।
अब लिग–२ को अन्तिम खेलमा ओमानलाई हराउँदै छैटौँ स्थान हासिल गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रनेछ।































