काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढी र त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म १,३५७ जनाको शव फेला परेको छ। फेला परेका शवहरूमध्ये केही स्थानबाट मानव अङ्गहरू समेत भेटिएका छन्।
भेटिएकामध्ये १०२ जनाको मात्र सनाखत भई परिवारले शव बुझिसकेका छन्। बाढीपछि ५,३२६ जना अझै सम्पर्कविहीन छन्, जसमा रसुवाका २,८६०, नुवाकोटका १,९८१ नेपाली तथा करिब ५८७ विदेशी पर्यटक रहेका छन्।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार हालसम्म १३,५८३ जनाको उद्धार गरिएको छ भने ६,८२७ घाइतेको उपचार भइसकेको छ। उपचारमध्ये ३२७ जनाको विभिन्न १० अस्पतालमा, ३,४०४ जनाको नेपाली सेनामार्फत र ३,०९६ जनाको सशस्त्र प्रहरी बलमार्फत उपचार गरिएको हो।
उद्धार तथा राहत कार्यका लागि नेपाल प्रहरीका ७,९१२, नेपाली सेनाका ९,२८७ र सशस्त्र प्रहरी बलका ४,२०३ गरी कुल २१,४०२ सुरक्षाकर्मी मैदानमा खटिएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री पुर्याउन नेपाली सेनाले १,१५७ पटक, निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरीले २०३ पटक हेलिकप्टर उडान भरेका छन्।
यस्तै रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा ३,५३३ जना प्रभावितलाई राखिएको छ। राहतका लागि सरकारले रसुवा र नुवाकोटलाई १(१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ बजेट पठाएको छ।
प्रभावित क्षेत्रमा ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल, १८ हजार लिटर हवाई इन्धन मौज्दात राखिनुका साथै ४५७ ग्यास सिलिन्डर अनुदानमा बाँडिएको छ।
हाल रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६।७ प्रतिशत र धादिङमा ९९।८ प्रतिशत घरधुरीमा बिजुली पुनः सञ्चालन भइसकेको छ। साथै, स्वास्थ्य मन्त्रालयमार्फत १५० भन्दा बढी स्वास्थ्यकर्मी र विशेषज्ञ परिचालन गरी प्रभावितहरूलाई मनोसामाजिक परामर्श सेवासमेत प्रदान भइरहेको प्राधिकरणले जनाएको छ।































