Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा–५ मा मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीमा कडाइ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १८ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५ ले वडाभित्रका सार्वजनिक स्थल, विद्यालय तथा मठमन्दिरमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा सेवन नगर्न/नगराउन सार्वजनिक सूचना जारी गरेको छ।

वडा कार्यालयले जारी गरेको सूचनामा मदिरा ऐन, २०३१ तथा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ११ को उपदफा (३) बमोजिम सार्वजनिक स्थल, विद्यालय तथा मठमन्दिरबाट कम्तीमा १०० मिटरभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा सेवन गर्न नपाइने व्यवस्था रहेको उल्लेख गरिएको छ।

वडा कार्यालयले उक्त कानुनी व्यवस्थाको पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। साथै, सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र व्यवस्था कार्यान्वयन नभएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

वडा अध्यक्ष शंकर भण्डारीद्वारा हस्ताक्षरित सूचनामार्फत वडाभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण र सेवनलाई नियमन गर्दै सार्वजनिक स्थल तथा शैक्षिक एवं धार्मिक क्षेत्रको वातावरण सुरक्षित र मर्यादित बनाउन जोड दिइएको छ।


प्रतिकृया दिनुहोस्