Skip

Hamro Sanchar

प्रधानमन्त्री कोषको नाम देखाउदै आफ्नै क्यूआरबाट पैसा उठाउने ठग पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १४ गते


Advertisement

१४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको राहतका नाममा सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गरी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका वडा नं. २, ठोसे बस्ने ३२ वर्षीय भगवान कार्कीलाई नियन्त्रणमा लिइएको हो ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावितहरूको उद्धार र राहत संकलनका लागि सरकारले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा सहयोग गर्न आह्वान गरेको थियो ।

सोही सन्दर्भलाई दुरुपयोग गर्दै कार्कीले आफूले उक्त कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भनी ‘च्याटजिपीटी’ को प्रयोग गरेर नक्कली इ(सेवा स्टेटमेन्ट तयार पारेका थिए ।

कार्कीले उक्त नक्कली स्टेटमेन्टसँगै आफ्नो व्यक्तिगत क्युआर कोड समेत सामाजिक सञ्जालमा पोस्ट गरी अन्य व्यक्तिहरूबाट रकम संकलन गर्ने र ठगी गर्ने नियत राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सरकारी कोषको नाममा भ्रम फैलाएर ठगी धन्दा चलाइरहेको विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 


प्रतिकृया दिनुहोस्