१३ भद, काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार प्रयासमा महत्वपूर्ण प्रगति भएको छ।
गृहमन्त्री सुदन गुरुङले उद्धार टोली सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न सफल भएको जानकारी दिएका छन्।
गृहमन्त्री गुरुङले सार्वजनिक गरेको जानकारीअनुसार उद्धार टोलीले सुरुङको माथिल्लो भागसम्म पुगेर एउटा सानो प्वाल बनाउन सफल भएको हो।
उक्त प्वालबाट सुरुङभित्र हावा पठाउन सुरु गरिएको उनले बताएका छन्।
उनका अनुसार अब उक्त क्षेत्रमा थप खन्ने काम अघि बढाइनेछ र त्यसपछि उद्धार टोलीलाई सुरुङभित्र पठाउने तयारी भइरहेको छ।
सुरुङभित्र फसेका व्यक्तिहरूको अवस्था अझै पूर्ण रूपमा स्पष्ट नभए पनि उद्धारका क्रममा सुरुङको माथिल्लो भागसम्म पहुँच स्थापित हुनु महत्वपूर्ण प्रगति मानिएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ लगायतका जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा कामदार र कर्मचारी फसेको आशंका गरिएको छ।
उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीसँगै भारत र चीनबाट आएका प्राविधिक तथा सुरुङ उद्धार विशेषज्ञ टोलीसमेत परिचालन भएका छन्।
अत्यधिक लेदो तथा भग्नावशेषका कारण सुरुङभित्र पुग्न चुनौती देखिएपछि विभिन्न प्रविधि र उपकरणको प्रयोगबाट उद्धारको बाटो खोल्ने प्रयास भइरहेको छ।






























