काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि २० वटा घर निर्माण गरिदिने घोषणा गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत प्रसाईंले विपद्को समयमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको आलोचना गर्नुभन्दा प्रभावित परिवारलाई सहयोग गर्नुपर्ने बताएका हुन्।
उनले बाढीमा ज्यान गुमाएकालाई फर्काउन नसकिने भन्दै जीवित प्रभावित परिवारको गास, बास र कपासको व्यवस्थापनमा सबै जुट्नुपर्ने धारणा राखेका छन्।
प्रसाईंले आफ्नोतर्फबाट २० वटा घर निर्माण गर्ने निर्णय गरेको जानकारी दिँदै अन्य व्यक्ति तथा संस्थालाई पनि प्रभावित परिवारको सहयोगमा जुट्न आग्रह गरेका छन्।
उनका अनुसार विपद्का बेला राजनीतिक आरोप–प्रत्यारोपभन्दा प्रभावित परिवारको राहत, पुनर्स्थापना र आवास व्यवस्थापनलाई प्राथमिकता दिन आवश्यक छ।































