Skip

Hamro Sanchar

भोटेकोसी बाढी : अहिलेसम्म २ हजार ४६५ जनाको उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १३ गते


Advertisement

१३ भदौ, काठमाडौं । भोटेकोसीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरेको उद्धार अभियान अन्तर्गत अहिलेसम्म २ हजार ४६५ जनाको उद्धार भएको छ ।

नेपाली सेनाले आम बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट हवाई तथा स्थल माध्यमबाट प्रभावितहरूको उद्धार गरिएको जनाएको हो ।

सेनाका अनुसार हेलिकोप्टरमार्फत विभिन्न क्षेत्रबाट २ हजार २६५ जनाको उद्धार गरिएको छ । यसमध्ये टनेलबाट उद्धार गरिएका १९१ जना पनि समावेश छन् । त्यस्तै, स्थलमार्गबाट थप २०० जनाको उद्धार गरिएको छ ।

हवाई माध्यमबाट उद्धार गरिएकामध्ये १६३ जना विदेशी नागरिक रहेका छन् । उद्धार गरिएका विदेशी नागरिकमा ११३ भारतीय, ४ जर्मन, २६ चिनियाँ, २ अमेरिकी, २ इटालियन, १ ओमानी र १५ कोरियन नागरिक रहेका छन् ।

बाढी प्रभावितका लागि नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्रबाट हालसम्म १ हजार ७०६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । उद्धारसँगै घाइते तथा प्रभावितलाई तत्काल उपचार उपलब्ध गराउने काम भइरहेको सेनाले जनाएको छ ।

बाढी तथा विपद्पछि प्रभावित जिल्लामा नेपाली सेनाका करिब ६ हजार ७ सयभन्दा बढी सेनापरिचालन गरिएको छ । सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीय निकायसँग समन्वय गरी घाइते तथा प्रभावितको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण गरिरहेको जनाएको छ ।

राहत सामग्री काठमाडौंमा संकलन गरी स्थलमार्ग हुँदै त्रिशूलीसम्म पुर्‍याएर त्यहाँबाट हवाई माध्यमबाट प्रभावित क्षेत्रमा पठाइएको छ । सेनाका अनुसार ३ए टनेल क्षेत्रमा ३ हजार ६०० किलो, मैलुङमा ५०० किलो र बेत्रावतीमा २२० किलो राहत सामग्री हवाई माध्यमबाट ढुवानी गरिएको छ ।

यसैबीच, त्रिशूली ३ ए टनेल क्षेत्रमा १२ भदौदेखि उद्धार कार्य जारी छ । नेपाली सेनाका ८४ जनासहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी १४६ जनाको संयुक्त टोली टनेल क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिएको सेनाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्