११ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले सहकारी ठगीको आरोप लागेका एमालेका पूर्वसांसद इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गरेको छ।
न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङसहित दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन, हरिहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर (कंसाकार), नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य (तामाङ), लालकाजी गुरुङ र मिना गुरुङलाई दोषी ठहर गरेको हो।
अदालतले उनीहरूलाई सजाय निर्धारणका लागि आगामी २५ गते पेस गर्न आदेश दिएको छ।
तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा दोषी ठहर भएपछि सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था छ। सोहीअनुसार अदालतले सजाय निर्धारणका लागि अर्को पेसी तोकेको हो ।






























