Skip

Hamro Sanchar

बाढीको महाविपत्ति : ४१ पुल पूर्ण क्षतिग्रत, सरकारसँग  ७ वटा मात्रै बेलिब्रिज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ११ गते


Advertisement

११ भदौ, काठमाडौं । रसुवा बाढीको असरले ४१ वटा पक्की पुलमा क्षति पुगेको छ । तर, सरकारसँग भने ५० मिटर लम्बाइका जम्मा ७ वटा बेलिब्रिज मौज्दात रहेको सरकारकै मन्त्रीले जानकारी गराएका छन् ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बिहीबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको सूचना अनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

उनका अनुसार वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ ।

यसैगरी, पृथ्वीराजमार्ग अन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको र लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको जानकारी मन्त्री लम्सालले दिएका छन् ।

उनका अनुसार बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सरकारसँग ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज छन् ।

‘आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको छ,’ मन्त्री लम्साल लेख्छन्,‘भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ ।’

पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको उनले जानकारी गराएका छन् ।

त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ । वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था छैन ।

सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कूल २० वटा उपकरण परिचालन गरिएको जानकारी मन्त्री लम्सालले गराएका छन् ।

उनका अुनसार क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको छ ।


प्रतिकृया दिनुहोस्