११ भदौ, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री संकलनमा जुट्न नागरिक, संघ–संस्था, कम्पनी तथा विभिन्न समूहलाई अपिल गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बुधबार आएको बाढीबाट प्रभावित तथा पीडितहरूका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न, लुगा तथा लत्ताकपडा, भाँडाकुँडा र अन्य घरायसी प्रयोजनका सामग्री उपलब्ध गराउन इच्छुक महानुभाव तथा संस्थाहरूलाई राहत संकलनमा सहभागी हुन आग्रह गरेको हो।
काठमाडौंमा संकलन हुने राहत सामग्री एकद्वार प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालयमा संकलन गरी सम्बन्धित जिल्लाका सुरक्षा निकाय, राहत उद्धारमा प्रत्यक्ष रूपमा खटिएका सुरक्षा निकाय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वय र निर्देशनमा पीडितसमक्ष पुर्याइने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।
राहत सामग्री संकलन तथा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवालाई सम्पर्क व्यक्ति तोकिएको छ।
बर्देवासँग मोबाइल नम्बर ९८४१७९६५४२ मा सम्पर्क गर्न सकिने कार्यालयले जनाएको छ।
त्यस्तै, नगद सहयोग गर्न इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा वा कार्यालयले उपलब्ध गराएको क्यूआरमार्फत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले विपद्को यस घडीमा बाढीपीडितको सहयोगका लागि आवश्यक राहत सामग्री उपलब्ध गराई मानवीय सहयोगमा जुट्न सबैमा अपिल गरेको छ।
































