११ भदौ, काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगका लागि भारत सरकारले १० टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ।
छिमेकी राष्ट्रमा परेको संकटको घडीमा ऐक्यबद्धता जनाउँदै भारतले उक्त राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको यहाँस्थित दूतावासले जनाएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेललाई बुधाबार राति नै सो राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
भारतको विदेश मन्त्रालयले यो सहायताले बाढी प्रभावित क्षेत्रमा जारी राहत र पुनर्स्थापनाको प्रयासमा सहयोग पुग्ने विश्वास गरेको छ।
सहयोग सामग्री हस्तान्तरणका क्रममा भारतीय पक्षले नेपाललाई आवश्यक पर्ने हरेक प्रकारको सहयोग गर्न भारत सदैव प्रतिबद्ध रहेको र संकटको समयमा सधैं नेपालको साथमा उभिने कुरा दोहोर्याएको छ।































