१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
बाढीका कारण भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै थापाले त्यहाँ बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन आग्रह गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल गर्दै थापाले विपद्को अवस्थामा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार तथा राहतमा केन्द्रित हुन सरकारलाई अनुरोध गरेका छन्। साथै, उनले सबै तहका सरकारबीच प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिएका छन्।
विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि थापाले व्यक्त गरेका छन्।
उनले नेपाली कांग्रेसका सम्पूर्ण समिति, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका पार्टी नेतृत्व तथा सदस्यहरूलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, उद्धार तथा राहत कार्यमा तत्काल जुट्न र आवश्यक सहयोग गर्न अपिल गरेका छन् ।
































