Skip

Hamro Sanchar

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाखको क्षति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १० गते


Advertisement

१० भदौ, ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो ।

उक्त आगो फैलिएर उहाँकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए ।

आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र रु २० हजार नगद जलेर नष्ट हुँदा करिब रु १२ लाखबराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र रु ५० हजार नगद जलेर नष्ट हुँदा करिब रु १४ लाख क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्